गृहमन्त्री सुधन गुरुङ र गोरखा–१ का स्थानीयबीच भएको संवाद अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। आइतबार गुरुङले शहीद लखन गाउँपालिकाका स्थानीयसँग भेटघाट गर्दै उनीहरूका गुनासा र सुझाव सुनेका थिए।
भेटमा वडा नम्बर ९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सचिव खोपेन्द्र लामिछाने लगायतको सहभागिता थियो। सो क्रममा स्थानीयले चुनावअघि गुरुङले आफ्नो वडामा प्रयोगशाला (ल्याब) निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसको अवस्था बारे प्रश्न गरेका थिए।
स्थानीयका अनुसार गुरुङले चुनावका क्रममा आगामी असारमा ल्याबका लागि बजेट व्यवस्था गर्ने आश्वासन दिएका थिए। त्यसका लागि स्वास्थ्य मन्त्रालयका सचिवलाई फोनसमेत गरेको उनीहरूले बताएका थिए। तर चालु बजेटमा उक्त कार्यक्रम नदेखिएपछि स्थानीयले गुनासो गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले सरकार गठन भएको चार महिना मात्रै भएको र पहिलो बजेटसमेत हालै कार्यान्वयनमा आएको बताए। उनले वडास्तरका सबै योजनालाई बजेटको किताबमै समेट्न सम्भव नहुने भन्दै सम्बन्धित योजनाका लागि आवश्यक सूची मागिएको जानकारी दिए।
गुरुङले चार महिनामै सबै परिवर्तन गर्न नसकिने बताउँदै भने, ‘चार महिनामै कायापलट गर्न म सक्दिनँ।’
त्यस क्रममा उनले ‘भोट लिएर जानु भए हुन्छ’ भनेपछि सहभागीहरूबीच हाँसोसमेत चलेको थियो। संवादको सन्दर्भमा हेर्दा उक्त भनाइ गम्भीर राजनीतिक चुनौतीका रूपमा नभई स्थानीयसँगको सौहार्दपूर्ण कुराकानीका क्रममा आएको देखिन्छ।
स्थानीयले पनि हाँस्दै आफूहरूले जिताएर पठाइसकेको अवस्थामा अब भोट कहाँबाट लैजाने भन्दै गुरुङलाई चुनावअघि नै आफूलाई नजिताउन भन्नुपर्ने बताएका थिए।
गुरुङले आफू स्पष्ट रूपमा कुरा गर्ने व्यक्ति भएको उल्लेख गर्दै विश्वास नभए अर्को व्यक्तिलाई मत दिन सकिने बताए। साथै, आफूलाई पाँच वर्षसम्म काम गर्ने अवसर दिएर मूल्यांकन गर्न स्थानीयलाई आग्रह गरे।
यसरी ल्याब निर्माणको बजेटबारे सुरु भएको प्रश्नोत्तर राजनीतिक आरोप–प्रत्यारोपमा नपुगी हाँसो र सहज वातावरणमै टुंगिएको थियो।